चीनबाट ल्याइने विद्यार्थीलाई नभेट्न अपिल : १४ दिन क्वारेन्टाइनमा राखिने, २४ सै घण्टा निगरानी


काठमाडौं, ३ फागुन । चीनबाट उद्धार गरी ल्याइने नेपालीलाई उनीहरूका आफन्तले तत्काल भेट्न नपाउने भएका छन् । ती नेपालीले आफन्त र अभिभावकसँग भेट गर्न कम्तीमा दुई साता क्वारेन्टन स्थलमा बिताउनु पर्नेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरूलाई त्रिभुवन विमानस्थल र क्वारेन्टाइनस्थलमा भेटघाट नगर्न अभिभावकसँग अपिल गरेको हो । सरकारले चीनको वुहान सहरमा रहेका १ सय ८५ नेपालीलाई छिट्टै फर्काउने तयारी गरेको छ । उनीहरूलाई खरिपाटीस्थित क्वारेन्टाइन स्थलमा राखिने छ ।

सुरक्षा संवेदनशीलता एवं उच्च स्वास्थ्य जोखिमका कारणले विमानस्थल र क्वारेन्टाइनस्थलमा परिवारका सदस्यलाई भेट्न रोक लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

मन्त्रालयले क्वारेन्टाइन स्थल वरपरका समुदायका बासिन्दामा सम्भावित संक्रमणबारे त्रसित नरहन र संयमित व्यवहार गरिदिन आग्रह गरेको छ । मन्त्रालयका अनुसार क्वारेन्टाइन स्थलमा रोग प्रसार हुन सक्ने सम्भावित तरिकाको रोकथामका लागि सम्पूर्ण सावधानी अवलम्बन गरिएको छ ।

शनिबार विमान पठाइँदै

उद्धारको पर्खाइमा रहेका नेपाली विद्यार्थीलाई लिन नेपाल वायुसेवा निगमको वाइडबडी विमान शनिबार त्यसतर्फ पठाइने भएको छ । मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालका अनुसार सेनाको चिकित्सकको नेतृत्वमा चारजना स्वास्थ्यकर्मी वुहान जाँदै छन् । ‘विमान कति बजे उडान हुन्छ भन्ने तय भइसकेको छैन । जाने तयारी अन्तिम चरणमा छ’, उनले भने । टोलीमा सशस्त्र र नेपाल प्रहरी पनि सहभागी हुनेछन् ।

उक्त टोलीले नै नेपाली यात्रुलाई विमानमा चढाउने, ओराल्ने लगायत अन्य मनोवैज्ञानिक परामर्श दिनेछ । त्यसका लागि पाइलट, विमानका क्रु सदस्य र स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिइसकिएको छ । विद्यार्थीलाई कति बजे काठमाडौं अवतरण गराइने यकिन भइनसकेको उनले बताए ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्ड एवं अन्तर्रा्ष्ट्रिय स्वास्थ्य नियमले तोकेको प्रावधानअनुरूप क्वारेन्टाइन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको मन्त्रालयले जनाएको छ । नेपाल फर्कनुअघि उनीहरूको चीनमै स्वास्थ्य जाँच गरिनेछ । उनीहरूमा सामान्य ज्वरो आएमा वा अन्य लक्षण देखिएमा चीनले पठाउँदैन । उद्धार गरी ल्याइने नेपालीमा भाइरस संक्रमणको लक्षण नदेखिए पनि यात्राका क्रममा देखिन सक्ने समस्याको व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

विमानस्थलमा पाँच हेल्थ डेस्क

उद्धार गरिएका नेपाली विमानस्थलमा आउनेबित्तिकै स्वास्थ्य परीक्षण गरिनेछ । त्यसका लागि विमानस्थलमा ५ वटा हेल्थ डेस्क स्थापना गरिएको सहायक प्रवक्ता दाहालले जानकारी दिए । उनले भने, ‘हेल्थ डेस्कमा सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गरिनेछ । ज्वरो वा खोकीलगायतका केही लक्षण देखिएमा अस्पताल लगिनेछ ।’

१४ दिन क्वारेन्टाइनमा बास

कुनै लक्षण नदेखिएको अवस्थामा उद्धार गरिएका विद्यार्थीलाई बस र एम्बुलेन्सबाट क्वारेन्टाइनमा लगिनेछ । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित विद्युत् तालिम केन्द्रको भवनमा क्वारेन्टाइन बनाइएको छ । उनीहरूलाई क्वारेन्टाइन स्थलमा कम्तीमा १४ दिन राखिने छ । एउटा कोठामा बढीमा तीन जना विद्यार्थी रहने छन् ।

२४ सै घण्टा निगरानी

क्वारेन्टाइन स्थलमा स्वास्थ्यकर्मीको टोलीले २४ सै घण्टा निगरानी गर्नेछ । शंकास्पद रोगको लक्षण देखिएमा तुरुन्त अस्पतालसम्म लैेजान एम्बुलेन्सको व्यवस्था गरिएको छ । क्वारेनटाइन स्थलमा निगरानीमा रहँदा कुनै लक्षण देखिएमा वा प्रयोगशाला परीक्षणको प्रतिवेदन पोजेटिभ आउँदासम्ममा तोकिएको अस्पतालमा उपचारका लागि पठाइने प्रबन्ध मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्