धनुषा बम विष्फोटका मुख्य योजनाकार विप्लव समूहका जिल्ला इञ्चार्ज पक्राउ


जनकपुरधाम, २ फागुन । एक प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान जाने गरी धनुषामा गराइएको बम विष्फोटमा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषा बम विष्फोटका योजनाकार भन्दै प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्वल’ समूहका सप्तरी जिल्ला इञ्चार्ज इन्दल साह धानुकलाई पक्राउ गरेको हो । उनलाई प्रहरीले सप्तरीबाट पक्राउ गरेको धनुषा प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् । धानुक यसअघि विप्लव नेकपाको सिरहा जिल्ला इञ्चार्ज रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा यसअघि प्रहरीले पाँच जनालाई पक्राउ गरिसकेको छ ।

गत मंसिर २७ गते राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा भएको बम विष्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहाल, औषधि व्यवसायी ४८ वर्षीय राजेश साह र उनका छोरा १६ वर्षीय आनन्द साहको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्