‘काँग्रेसले कम्युनिष्टबाट सिक्नुपर्छ’


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवासको जग्गा हिनामिना आरोपमा पूर्व तीन मन्त्री सहित १७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अख्तियारले काँग्रेसका उपसभापति एवम् संसदीय दलका उपनेता बिजयकुमार गच्छदार विरुद्ध समेत मुद्दा दर्ता गरेको छ ।

अख्तियारले गच्छदारलाई बिगो दावी सहित जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा मुद्दा दर्ता गराएपछि नेपाली काँग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको छ भने सडकमा भातृ संस्था उतार्ने निर्णय गरेको छ । यस्तो निर्णयलाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता लेखनाथ न्यौपानेले अनुचित भनेका छन् ।

उनले अदालतले गर्ने फैसलामा विश्वास गर्न सुझाव दिदैं काँग्रेसलाई कम्युनिष्टबाट सिक्न आग्रह गरेका छन् । न्यौपानेले सामाजिक सञ्जालबाट काँग्रेसलाई दिएको सुझाव सान्दर्भिक ठानेर प्रस्तुत गरिएको हो– सम्पादक ।

कम्युनिस्ट र कांग्रेसमा फरक

मूर्त बिषय र तथ्य नहुँदा नहुँदै पनि हामी कम्युनिस्टहरुको जीवन भड्किलो भयो । सम्पत्तिको लोभ अच्चकाली भयो । सम्पित्तिकै लोभको कारण हामीले वर्ग धरातल विर्सियौं ।

यसको स्रोत भ्रष्टाचार र कमिसन हो भनेर जनस्तरमा कुरा उठ्न थाल्यो । कम्युनिस्ट भएर छाती खुलाएर हिड्न पनि लाज हुन थाल्यो भनेर केन्द्रीय समितिमा बहस हुन्छ । सम्पत्ति छानविन समिति आयोग बन्छ र राजनीतिलाई पारदर्शी बनाउने कुरा अघि बढ्छ ।

तर, कांग्रेसीहरु भ्रष्टाचारीलाई छुन पाइदैन भन्दै सडकमा छाती फुकाएर हिंड्ने निर्णय पो गर्न थाले त बा ।

राज्य (ठ्याक्कै सरकार होइन) को संवैधानिक निकायले छानविन गरेर अदालतमा मुद्दा दर्ता गर्ने र अन्तिम निर्णय अदालतले गर्ने विषयप्रति नै विमति हो भने प्रजातन्त्रको सुन्दर पक्ष शक्ति पृथकीकरण भनेर किन भन्ने र मान्ने त ?

हामीले त प्रष्ट भन्यौ नि मुद्दा अदालत (तत्कालीन सभामुख कृष्णबहादुर महरा प्रकरण)* मा पुगिसके पछि बाहिरबाट सही र गलत भनेर वहस गर्नु बेकार हुन्छ ।

जे निर्णय अदालतले गर्छ त्यही निर्णय स्वीकार्ने भन्ने हाम्रो आजको बझाई भएर नै केही समय अघि हाम्रा नेतालाई षड्यन्त्रपूर्ण ढंगबाट फसाउँदा समेत हामी सडक वा सार्वजनिक वहसमा उत्रिएनौं ।

यो कुरो कम्युनिस्टबाट कांग्रेसले सक्निु पर्दैन ? अनि कांग्रेस प्रतिपक्षमा भएकै आधारमा वा सरकारको विरोध गर्ने मात्र नाममा भ्रष्टाचार जस्तो राष्ट्रिय रोगलाई समेत जोगाउने गरी सडकमा जाने कुरो किमार्थ सही हुँदैन ।

बरु बाँकी ज–जसबारे प्रश्न उठेको छ, उ–उसलाई कानूनी दायरामा ल्याउनको लागि दवाव दिने कुरो पो सही होला नि ?

*न्यौपानेले उल्लेख नगरेपनि संकेत त्यहीतर्फ गरेको हुनसक्ने भएकाले थपिएको

प्रतिक्रिया दिनुहोस्