चीनबाट उद्धारपछि दुई साता निगरानीमा


काठमाडौं, १९ माघ । हुपे प्रान्तबाट उद्धार गरी ल्याइने नेपाली विद्यार्थीलाई दुई साता एकान्तमा राखिने भएको छ । चीनमा छात्रावास र होटलमा बन्दी अवस्थामा बसेका विद्यार्थीलाई सुरक्षित रूपमा राख्न छलफल भइरहेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले उनीहरूलाई छुट्टै स्थानमा राख्नुपर्ने बताए । ‘कम्तीमा १४ दिनसम्म संक्रमणको अवधि मानिन्छ’, उनले भने, ‘त्यस अवधिसम्म एकान्तमा राख्नुपर्ने हुन्छ ।’ सम्पर्कमा आएका अन्य व्यक्तिलाई श्वासप्रश्वासका माध्यमबाट भाइरस सर्ने सम्भावना रहेको उनको भनाइ छ

चार्टर्ड जहाजबाट कति जनालाई उद्धार गरी ल्याइने हो भन्ने यकिन तथ्यांक भने छैन। स्वदेश फर्किन त्यहाँ रहेका विद्यार्थीले फारम भर्न थालेका छन् । आइतबार बिहानसम्म समय तोकिएकाले दुई दिनभित्र संख्या यकिन हुने र व्यवस्थापन गर्ने स्थानको टुंगो लगाउने तयारी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीका अनुसार उद्धारपछि विद्यार्थीलाई कहाँ राख्ने भनेर छलफल भइरहेको छ । ‘पर्याप्त रूपमा पूर्वतयारी नगरी उद्धार गरेर ल्याउन लागिएको छ’, ती अधिकारीले भने, ‘झण्डै १५ दिन कहाँ राख्ने भनेर छलफल भइरहेको छ ।’

उद्धारलगत्तै विमानस्थलको प्रवेश बिन्दुदेखि सम्भावित जोखिमको पहिचान गर्दै एकान्तमा राखिने छ । हुपे प्रान्तमा झण्डै २ सय नेपाली विद्यार्थी छन् । उनीहरूलाई राख्ने स्थान टुंगो लागेको छैन ।

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, छाउनीस्थित नेपाल आर्मी अस्पताल, नेपाल प्रहरीको अस्पताल र भक्तपुर खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राख्न छलफलका भइरहेको स्रोतले बतायो ।

भारतले शनिबार उद्धार गरी ल्याएका आफ्ना नागरिकलाई दिल्लीको इन्डो टेबटन बोर्डर पुलिस क्याम्प र हरियाणाको मनेसरस्थित आर्मी क्याम्पमा मेडिकल निगरानीमा राखेको छ । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्