नयाँ सभामुखका लागि अडकलबाजी शुरू


काठमाडौं, २६ मंसिर । संसद् अधिवेशन सुरु भएसँगै संसद्मा नयाँ सभामुख चयन प्रक्रियाको चहलपहल बढेको छ ।

पहिलो बैठकबाटै नयाँ सभामुख निर्वाचन गर्ने मिति तय गर्नेगरी अनौपचारिक छलफल सुरु हुन थालेका छन् । सभामुखको उमेदवार कसलाई बनाउने विषयमा पनि सत्तापक्ष र प्रतिपक्षपार्टीमा अनौपचारिक छलफल सुरु भएको छ । नेकपाले सभामुख आफूले लिने भए पनि पार्टीबाट कसलाई उठाउने भन्ने औपचारिक निर्णय गरेको छैन ।

पार्टी स्रोतले भन्यो, ‘दुई दिनपछि केही हुनसक्छ ।’ प्रमुख कांग्रेसले बिहीबार केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टीले सभामुख र उपसभामुखमा उम्मेदवारी दिने कि नदिने निर्णय गर्नेछ । सभामुख र उपसभामुखका सम्भावित उमेदवार शक्ति केन्द्रमा धाउन थालेका छन् । नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ पनि सक्रिय देखिएका छन् तर पनि उनले उमेदवार हुने नहुने विषयमा केही बताउँन चाहदैनन् ।

नेकपाका देव गुरुङ, अग्नि सापकोटा, हरिबोल गजुरेल, पम्फा भूषाल तथा उपसभामुख शिवमाया तुम्बाहाम्फेको पनि सक्रियता बढेको स्रोतले बतायो । उपसभामुख तुम्बाहाम्फेसँग सरकारको तर्फबाट कुनै मन्त्री भेट गर्न आएका छैनन् । उनी यतिबेला पर्ख र हेरको अवस्थामा छिन् । उनले आफूलाई पार्टी नेतृत्वले अहिलेसम्म कुनै छलफल नगरेको दुखेसो पोख्न थालेकी छन् ।

पार्टीले राजीनामा दिन भनेमा उनले राजिनामा दिने मनस्थिती बनाएकी छन् तर आफ्नो अपमान हुने गरी पद छोडन उनले चाहेकी छैनन् । उनले आफैलाई सभामुख बनाउन आफ्ना निकट नेतासँग छलफल गरेकी छन् । तर, सभामुख आफूलाई बनाउँछन् भन्ने विश्वासमा भने उनी देखिएकी छैनन् । उनले पाए सभामुख बन्ने नपाए संसद्को पहिलो बैठक आफैंले सञ्चालन गर्न पाए हुन्थ्यो भन्ने चाहना गरेकी छन् ।

सभामुखको आफंै उम्मेदवार बन्ने हो भने पनि उनले उपसभामुखबाट राजीनमा दिनुपर्ने हुन्छ । उपसभामुखको राजिनामा विना नेकपाले सभामुखको उम्मेदवारी दिन पाउने छैन । संविधानको धारा ९१ (२) ले सभामुख पुरुष भए उपसभामुख महिला, सभामुख जुन पार्टीको छ उपसभामुख फरक दलको हुनुपर्छ भन्ने व्यवस्था गरेको छ ।

उपसभामुख तुम्बाहाम्फेले पहिलो बैठक संचालन गर्ने हो भने उनको अध्यक्षतामा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु पर्ने हुन्छ । संसद्को इतिहासमा कार्यव्यवस्थाको अध्यक्षता उपसभामुखले गरेको रेकर्ड छैन ।

‘कि सभामुखले वा ज्येष्ठ सदस्यले कार्य व्यवस्थाको अध्यक्षता गरेका छन्,’ स्रोतले भन्यो । पुस ४ गते संसद् बैठक बस्ने भएपछि पुस ३ गते वा ४ गते बिहान कार्यसूची तय गर्न कार्यव्यवस्था बोलाउनुपर्ने हुन्छ । यसमा भएको सहमतिबमोजिम बैठकको कार्यसूची तय हुनेछ ।

मुख्यगरी सभामुख नभएको अवस्थामा सभाको अध्यक्षता गरेका व्यक्तिले पहिलो बैठकमै सभामुखको निर्वाचनका लागि निर्वाचन अधिकृत तोक्नुपर्ने हुन्छ र अर्को दिन निर्वाचन अधिकृतले निर्वाचनका कार्यक्रम प्रकाशित गर्ने हुन्छ । यस विषयमा छलफल सुरु नभएपछि संसद् सचिवालयले भने कार्यसुचीको प्रारम्भिक खाका तयार गरेको छैन ।

यौन दुव्र्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएपछि गत असोजदेखि संसद्मा सभामुख पद खाली छ । संसद् अधिवेशन नभएकाले सभामुख चयन हुन सकेको छैन । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्