विप्लव समूहका सिन्धुली जिल्ला सेक्रेटरी पक्राउ


सिन्धुली, २२ मंसिर । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सिन्धुली जिल्ला सेक्रेटरी पक्राउ परेका छन् ।

ठेकेदारसँग डेढ करोड रुपैयाँ चन्दा माग गरेको आरोपमा विप्लवका जिल्ला सेक्रेटरी कपिल भनिने शेरबहादुर वाइबालाई प्रहरीले पक्राउ गरेको हो । सिन्धुलीका प्रहरी प्रमुख (एसपी) चक्रबहादुर सिंहका अनुसार चन्दा आतंक, आगजनी तथा संगठित अपराधमा संलग्न भएको आरोपमा वाइवालाई नियन्त्रणमा लिएको हो ।

वाइबामाथि गत मंसिर ३ गते दुधौली नगरपालिका–१३ अरुणठाकुरमा निर्माण व्यवसायी छेत्रबहादुर बम्जनको स्काभेटरमा आगजनी गरेको आरोप छ । ‘वाइबाले ठेकेदार बम्जनको स्काभेटरमा आगजनीलगायत जिल्लामा अशान्ती क्रियाकलापमा संलग्न भएको विशेष सूचनाका आधारमा प्रहरीले प्रक्राउ गरेको हो,’ सिंहले भने ।

हरिहरपुरगढी गाउपालिका ३, गुर्जी निवासी वाइबाले ठेकेदार क्षेत्रसँग एक करोड ५० लाख रुपैयाँ चन्दा माग गरेको र त्यसको स्काभेटरमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्