ट्रकको ठक्करबाट स्कुले बालिकाको मृत्यु, कोहलपुर तनावग्रस्त


बाँके, २२ मंसिर । ट्रकको ठक्करबाट बालिकाको ज्यान गएपछि बाँकेको कोहलपुर तानवग्रस्त बनेको छ ।

आइतबार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल चोकमा ट्रकको ठक्करबाट बालिकाको ज्यान गएको हो । मृतक बालिकाको सनाखत भएको छैन ।

स्कुले बालिकाको मृत्यु भएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् । त्यसपछि प्रहरीले बल प्रयोग गरेको थियो । आक्रोशित समूह र प्रहरीबीच ढुङ्गा हानाहान भएको थियो । दर्जनौं गाडीहरु बीच सडकमै रोकिादा यात्रुहरु अलपत्र परेका छन् ।

सडकमा रोकिएका अधिकांश गाडीहरुको सिसा विद्यार्थीहरुले फुटाई दिएका छन् । उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पनि पारेका छन् । प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेको जनाएको छ ।
दुर्घटनामा शिशुसहित दुईको मृत्यु

यसैबीच पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका–२ जिरो पोइन्टमा भएको सडक दुर्घटनामा एक शिशुसहित दुई जनाको ज्यान गएको छ ।

नेपालगञ्जदेखि दाङतर्फ बिरामी लिएर जाँदै गरेको रा १ झ १६१ नम्बरको एम्बुलेन्स र विपरीत दिशाबाट आइरहेको ना ८ ख ५४३२ नम्बरको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा एक शिशु र चालक सल्यानको छत्रेश्वरी गाउँपालिका–१ का २८ वर्षीय चित्रबहादुर सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । शिशुको घटनास्थलमै र एम्बुलेन्स चालकको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्