गण्डक बाँध : सिंचाइ भारतमा, डुबान नेपालमा


पर्सा, २४ कार्तिक । ०१६ मा नेपाल र भारतबीच २१ बुँदे गण्डक सम्झौता भएसँगै दुई देशमा सिंचाइका लागि गण्डक ब्यारेज बनेको हो । तर, भारतले हिउँदमा सबै पानी सोहोरेर आफ्नो जमिन सिञ्चित गर्छ, नेपाली भूमि सुक्खा बनाई दिन्छ ।

बर्खामा ढोका बन्द गरेर भेल नेपालतिर फर्काइ दिन्छ र बस्ती नै डुबाई दिन्छ । यसरी दुवै देशमा सिँचाइ गर्ने प्रमुख उद्देश्यले भएको सम्झौताअनुसार बनेको ब्यारेज भारतका लागि फलिफाप बन्दा नेपालका लागि अभिशाप भइरहेको छ ।

नारायणी नदीले दक्षिणमा नेपाल र भारतबीच २४ किलोमिटर क्षेत्रमा सिमाना छुट्याउँछ । नेपालको नवलपरासी र भारतको चम्पारन जिल्ला जोड्ने बिन्दुमा बनेको गण्डक ब्यारेजमा ३६ ढोका छन् । आठवटा ढोकाबाट निस्कने पानी भारतले एउटा नहरबाट बिहारतिर लगेको छ भने अर्को आठ वटा ढोकाबाट निस्कने पानी उत्तरप्रदेशतिर जान्छ ।

यी दुवै नहरमा १६–१६ हजार गरी ३२ हजार क्युसेक पानी बग्छ । तर, नेपालका लागि बनाइएको नहरबाट तीन सय क्युसेक पानी मात्र बग्न सक्छ । त्यसबाहेक भारतले बिहारतिर लगेको नहरबाट आठ सय ५० तथा उत्तरप्रदेशतिर लगेको नहरबाट ४४ र पर्सौनी माइनरबाट २२ क्युसेक पानी नेपाल पठाउँछ ।

यसरी गण्डक ब्यारेजबाट भारतले ३१ हजार ८४ क्युसेक पानी लैजाँदा नेपालले एक हजार दुई सय १६ क्युसेक मात्रै पाउँदै आएको छ । ‘उता ३२ हजार क्युसेक लैजाँदा हामीलाई तीन सय क्युसेक क्षमताको नहर बनाई दिएको छ ।

त्यो पनि मर्मत नहुँदा डेढ सय क्युसेक मात्रै आउँछ,’ गण्डक नदी नियन्त्रण संघर्ष समितिका अध्यक्ष दूधनाथ गुप्ताले नयाँ पत्रिकासँग भने, ‘दुवै देशको हितका लागि भनेर बनाइएको गण्डक बाँधले खै त समान व्यवहार गरेको ?’

गण्डक सम्झौतामा भारतको तुलनामा नेपालले सिँचाइ पाउने क्षेत्रफल पनि नगन्य छ । भारतले बिहार र युपीका १८ लाख ५० हजार एकड जमिनमा सिँचाइ पाउने उल्लेख छ । तर, नेपालले बारा, पर्सा, रौतहट, नवलपरासीको जम्मा ४० हजार एकड मात्रै सिँचाइ पाउने गरी सम्झौता भएको छ । त्यसमा पनि नेपालतर्फ हाल २४ हजार एकडमा मात्रै सिँचाइ पुग्ने संरचना बनेको छ । बाँकी १६ हजार एकड सिँचाइका लागि नहर संरचना नै निर्माण गरिदिएको छैन ।

गण्डक बाँधले भारतमा फलिफाप, नेपाललाई अभिशाप
हिउँदमा सम्पूर्ण पानी भारतले लग्छ, त्यसैले सिँचाइ नपाएर नेपाली किसानको खेत बाँझो पल्टिएको छ ।

हिउँदमा सम्पूर्ण पानी भारतले लग्छ, त्यसैले सिँचाइ नपाएर नेपाली किसानको खेत बाँझो पल्टिएको छ । तर, बर्खामा भारतले बाढी नेपालतिर हुलिदिन्छ त्यसैले नेपाली बस्ती डुबानमा पर्छ । सुस्ता–३ रेवाका रविन्दर यादवसँग गण्डक ब्यारेज नजिकै कुनैवेला दुई बिघा जमिन थियो । हरेक वर्ष हुने डुबानले अहिले उनको भूमि बगरमा बदलिएको छ ।

उनीसँग अहिले सानो झुपडी उभ्याउने जमिन मात्रै छ । ‘त्यही पनि कुन दिन गण्डकमा उर्लिएको भेलले बगाउला र उठिवास होला भन्ने चिन्ताले सताइरहेको छ,’ टाढैबाट आफ्नो जग्गा देखाउँदै रविन्दरले भने, ‘बदाम, धान, उखु फल्थ्यो । खान टन्न पुग्थ्यो । खोलाले बिस्तारै–बिस्तारै सबै लग्यो । अहिले मजदुरी गरेर खानुपर्छ । छोराछोरी छन्, पढाउन सकेको छैन । खानकै लागि काम गर्नुपर्‍यो, पढाउन त मुस्किल छ ।’

जोखन कोइरीको व्यथा पनि उस्तै छ । यही नदी किनारमा उनको पनि दुई बिघा जमिन थियो । गण्डकको भेलले बालुवा थुपारिदियो । अहिले काँसले ढाकेको छ । कुनै वेला आफ्नै जग्गामा भ्याइनभ्याई खेती गर्ने उनी अहिले अरूको जग्गा बटैया (अधियाँ) लिएर कमाइरहेका छन् ।

त्यहीबाट आएको आम्दानीले घरपरिवार पालेका छन् । सम्पत्तिको नाममा सानो झुपडी मात्रै छ । भन्छन्, ‘भारतले खोला हाम्रोतिर लगाएर बिचल्लीमा पारिदियो ।’ धेरै सुस्तावासीसँग खेती गर्न जग्गा छैन, सुनाउन दुःखेसो मात्रै छ । कोइरी भन्छन्, ‘हाम्रो सुख त खोलाले बगायो ।’

गण्डकमा पानी कम हुँदा भारतले आपूतर्फका सम्पूर्ण ढोका खोलेर नहरबाट पानी लग्छ । बर्खामा पानीको बहाव बढ्दा आफ्नोतर्फको बहाव नियन्त्रण गरेर नेपालतर्फ जाने नहरको ढोका पूरै खोलिदिन्छ । गण्डकको भेल उर्लिएर पश्चिम नवलपरासी हुँदै पर्सा, बारा र रौतहटसम्मका बस्तीमा दौडन्छ ।

हरेक वर्षजसो नवलपरासीका चार गाउँपालिका डुबानमा पर्छन् । प्रतापपुरका नौ, सुस्ताका पाँच, विनयी त्रिवेणीका दुई र सरावल गाउँपालिकाका दुई गरी १८ वडाका आठ हजार चार सय ६४ घरधुरीले यस्तो पीडा भोगिरहेका छन् । सुस्ताका ठूलो रेवा, सानो रेवा, ए ग्याप, बी ग्याप, गोवरहिया, मर्चहवा, श्रीनगर, बलुवाटोललगायत क्षेत्र अहिले पनि ठूलो पानी पर्दा डुबानमा पर्छन् ।

‘दुवैतिरका ढोका मिलाएर खोलिदिए बाढी एकनासले खोलाभरि बगेर जाने थियो । हाम्रैतिरको ढोका मात्रै खोलिदिन्छन्, अनि घरखेत चुर्लम्म हुन्छ,’ सुस्ता–२ कुडियाका रामकेवल गुप्ता भन्छन् । भारतीय नहरभन्दा नेपाली नहर झन्डै एक किलोमिटर माथि छ ।

भारतले नेपालतिर भएको सो नहरको ढोकासमेत भत्काई दिएर थप डुबान निम्त्याई दिएको छ । ‘हाम्रो नहरमा सुरुमा तीन वटा ढोका थिए । एउटा भत्काएर दुईवटा मात्रै राखिदिए, यसले डुबान झन् बढेको छ,’ गुप्ताले भने ।

पाँच वर्षअघिको एउटा घटना त सुस्तावासीले अझै बिर्सिएका छैनन् । खोलामा ठूलो बाढी आयो, गाउँ पस्यो । रातको समय थियो, उनीहरू उठेर अग्लो ठाउँ खोज्दै परपरसम्म पुगे । ‘बालबच्चा बोकेर, गाईबस्तु डोहोर्‍याउँदै हतार–हतार हामी ए ग्याप बाँधमा गएर रातभर भिज्दै बसेका थियौँ ।

जंगलमा हाम्रो बिजोग थियो । घर त सबैको डुबेको थियो । खानेकुरा पनि भिजेको थियो । अब त बाढी पनि सामान्य लाग्न थालिसक्यो, सधैँभरि भागेर कता जाने ?’ जोखन कोइरी भन्छन्   ।०५० मा पनि बाढीले त्रिवेणी सुस्ता, रुपौलिया, नर्सही, जमुनिया, पक्लिहवा, गुठीपर्सौनी, सोमनी, कुडिया प्रतापुरलगायतका तत्कालीन १४ गाविस डुबाएको थियो । सर्वसाधारण घरबारविहीन बनेका थिए ।

डुबान र कटानबाट पीडित नेपालीले गण्डक नदी नियन्त्रण संघर्ष समिति बनाएर ११ जेठ ०६५ देखि आन्दोलन गरे । आन्दोलनकै क्रममा उनीहरूले ब्यारेजबाट भारतीय नहरमा जाने पानीसमेत थुनिदिएका थिए । ‘भारतमा त्यतिवेला खेती लगाउने समय थियो । हाम्रो आन्दोलनले पानीको हाहाकार भयो ।

अन्ततः १२ असारमा भारतसँग सम्झौता भयो र नहरमा पानी छाडियो,’ गण्डक नदी नियन्त्रण संघर्ष समितिका अध्यक्ष दूधनाथ गुप्ता सम्झिन्छन् । ३४ दिनसम्म चलेको आन्दोलनपछि भएको सम्झौतामा भारतीय अधिकारीले नेपालतर्पmको नहर समयमै मर्मत गर्ने, त्यो वेलासम्म बाढीले गरेको क्षतिको पूर्ति गर्नेलगायत २१ बुँदे सहमति पनि गरे । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्