हत्याको अघिल्लो दिन सबैलाई ‘बाई’ गरेकी थिइन ऐश्वर्यले


हँसिलो अनुहार बनाउँदै दरबारका कहानी बताउन उत्साहित भइन्, विष्णुप्रिया अधिकारी । दरबारमा २१ वर्ष पुजाकोठेको रुपमा काम गरेकी विष्णुप्रियालाई दरबारका कहानी भन्न रमाइलो लाग्छ । उनी भन्छिन्, ‘मुमाबडामहारानी रत्नराज्य लक्ष्मी शाहले बकसमा दिएको २५ हजारले मैले बानेश्वरमा घडेरी किनेँ र अहिले त्यही घर बनाएर बसेकी छु ।’ उनी अहिले ७६ वर्ष पुगिसकिन् । राणाहरुको दरबारमा पुजाकोठे भएर काम गर्दा उनी जवान नै थिइन् । समय कसरी बित्दो रहेछ, उनलाई पत्तै छैन ।

दुई छोरी र एक छोराकी आमा विष्णुप्रिया उमेरमा नै एकल महिला बनिन् ।
छोराछोरीसहित राजधानी बसेकी उनलाई दरबार हेर्ने र दरबारमा खाने ८४ व्यञ्जन हेर्न धेरै नै मन थियो । दरबारमा काम गर्ने एकजना चिनेजाने मानिसलाई उनले आग्रह गरिन् र दरबार हेर्न गइन् । बाहुनी देखेपछि त्रिभुवनका भान्जा, जेठी शाहज्यादीका छोरा जर्नेल साम्राज्य शमशेरको घरमा पुजाकोठेको जागिर पाइन् । पितृउत्सव हुँदा भान्से पनि बन्नुपर्ने उनको मुख्य काम थियो । उनी भन्छिन्, ‘भान्सेलाई दरबारभित्र रस्वि भनिन्थ्यो’ । राणाहरुको दरबारमा उनी २१ वर्ष पुजाकोठे भएर बसिन् । उनी विगतलाई सझिन्छिन्, ‘मैले चाँदीको पगरी भएको सुनको गाग्रीमा पानी भरेर ल्याउनुपथ्र्यो, पुजाको सामान ठिक पार्नुपथ्र्यो, चन्दन घोट्नुपथ्र्यो ।’

‘राजा वीरेन्द्र, रानी र मुमाबडामहारानी सबै आउनुहुन्थ्यो, जर्नेल गार्ड हुन्थे । साम्राज्यशमशेरको दरबारमा राजा वीरेन्द्र र रानी ऐश्वर्य आएको बेला कफी खुवाउने चलन थियो । दरबारमा काम गर्ने सबैलाई राजारानी आउने भनेपछि मेकअप गराएर राम्री बनाइन्थ्यो ।’ उनी भन्छिन्, ‘दरबारमा मसँग कहिलेकाहीं मेरो छोरो जान्थ्यो, चाँदी र सुनको पगरी भएको किस्तीमा विदेशी लामो चुरोट लिएर छोराले जर्साब, राणाहरु, मन्त्री, हाकिमका अगाडि लगेर दिन्थ्यो, तर राजा र रानीले चुरोट खाँदैनथे । दर्शन हजुर भनेर चुरोट दिएपछि किस्तीमा पैसा राखिदिन्थे । छोरो दंग पथ्र्यो ।’

‘पार्टीमा आएको बेला राजा वीरेन्द्र अलिकति ल्वाङ र सुनको पगरी भएको चाँदीको गिलासमा कफी खान्थे । पार्टीमा ८४ व्यन्जन भए पनि राजा वीरेन्द्र र रानी ऐश्वर्यले कफी मात्र खान्थे । साम्राज्यशमशेरले कर बढी भएको भनेर आफ्नो दरबार बेच्न लाग्दा राजा वीरेन्द्रले जग्गा चाहिएमा शिवपुरीको दिन्छु, पैसा चाहिएमा रोपनीको २० हजारका दरले दिन्छु भने, साम्राज्यशमशेरले जो हुकुम सरकार भने । जुरुक्क उठेर राजारानी गए ।’ उनी सम्झिन्छिन् । विष्णुप्रिया भन्छिन्, ‘दरबारभित्र प्रायः राणा र राजखलकले अंग्रेजीमै कुरा गर्थे । राजा वीरेन्द्र र रानी ऐश्वर्य पनि कामदारसँग नेपालीमा बोले पनि आफुबीच भने अंग्रेजीमै कुरा गर्थे ।

राजा वीरेन्द्र रिसाएको कहिले कहिल्यै देखिनँ । वीरेन्द्रले नोकरचाकरलाई पनि माया गर्थे । तर खानेकुरामा भने भेदभाव थियो । दरबारभित्र ३ किसिमका चामल पाक्थ्यो । उसिनेको चामल नोकरचाकरलाई, पुजापाठ गर्ने पण्डितहरुलाई मन्सुली र दरबारभित्रकाले चाहिँ परैबाट हरर बास्न आउने जिराको दानाजत्रो चामल पकाउँथे । दरबारका जर्नेल, हाकिमहरु केटी भनेपछि भुतुक्कै हुन्थे ।’ उनी भन्छिन्, ‘दाउरा बेच्न गाउँगाउँबाट तामाङ्नीहरु आउँथे, साना–साना मुठा पारेर, जर्नेलहरुले देखे भने बोलाउँथे, राम्री लाग्यो भने नुहाउन लगाउँथे, लुगा फेर्न लगाउँथे, मेकअप गराएर जर्साबको अगाडि लग्थे र जर्साबले श्रीमती बनाउँथे ।

दाउरा बेच्न गाउँगाउँबाट तामाङ्नीहरु आउँथे, साना–साना मुठा पारेर, जर्नेलहरुले देखे भने बोलाउँथे, राम्री लाग्यो भने नुहाउन लगाउँथे, लुगा फेर्न लगाउँथे, मेकअप गराएर जर्साबको अगाडि लग्थे र जर्साबले श्रीमती बनाउँथे ।

यसरी दाउरा बेच्न आउने युवती ७ वटासम्म राखेको त मेरै आँखाले देखेको हो ।’ छोराछोरीकै आमा भए पनि जर्साबलाई मन परेपछि पठाउँदैनथे । जर्साबलाई बीचमा राखेर जेठी श्रीमती अघि लागेपछि अन्य श्रीमतीहरु पनि जर्नेललाई बीचमा राखेर घुम्थे र पालैपालो खुट्टामा ढोग्थे । रानीहरुले आज लगाएका लुगा भोलि लगाउँदैनथे । म नारायणहिटी भित्र पनि जान्थे बेलाबेलामा । नारायणहिटी गएको बेला भान्छे साइली बज्यैले तरैतर भएको दुध खुवाउथिन् ।

दरबार हत्याकाण्ड हुनुभन्दा अघिल्लो दिन राजाको सचिवको घरमा विवाह भोजमा राजा वीरेन्द्र र रानी ऐश्वर्यसँग उनको भेट भयो । त्यतीबेला शाही सेनाको टोलीले पुरै घेरेको थियो । उनले भनिन् ‘मलाई मनमा कता कता चिसो पस्यो । म राजा रानीलाई भेट्न आतुर थिए । रानी मेरो छेउमा आएपछि मुसुक्क हाँसेर भन्नुभो ठिक छ’, उनले पनि ठिक छ सरकार भनिन् । विष्णुप्रियाले भावुक बन्दै सम्झिन् ‘फर्किने बेला रानीले पर पुगेर फर्केर हेर्दै हातले बाई गरिन् । त्यो बाई भोलिपल्ट सधैँका लागि बाई भयो ।’ विष्णुप्रियाले विगतलाई कोट्याउँदै भनिन् ।

bishnupriya2

प्रतिक्रिया दिनुहोस्