कुटनीति र विकासका लागि ‘शक्तिसाली थिंक ट्यांक’ गठन


काठमाडौं, १३ वैशाख । कुटनीति र विकासका क्षेत्रमा काम गर्न कुटनीति, प्रशासन र सामाजिक क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तित्वहरुले सेन्टर फर डिप्लोम्यासी एन्ड डेभ्लप्मेन्ट (सीडीडी) नामक संस्था गठन गरेका छन् । गैरनाफामुलक उक्त संस्थाले सरकारलाई गैरसरकारी बौद्धिक समूह (थिंक ट्यांक) का रुपमा सुझाव दिने बताइएको छ ।
फ्रान्सका लागि पूर्वनेपाली राजदूत मोहनकृष्ण श्रेष्ठको अध्यक्षतामा गठित उक्त संस्थामा पूर्वपराष्ट्र सचिव तथा संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव ज्ञानन्द्र आचार्य, पूर्वशिक्षा सचिव शंकरप्रसाद पाण्डे, राजनीतिशास्त्रका प्राध्यापक डा. गंगाबहादुर थापाका साथै अनिता जधारी, अरुण रञ्जित, हेमन्त कोलाक्षपति, खेमराज लकाई, नवराज पाण्डे, डा. प्रमोद जैसवाल, श्रीराम लामिछाने, सुरेन्द्र शाक्य, शान्तिलक्ष्मी शाक्य र मित्रबन्ध पौडेल हुनुुहुन्छ ।
उक्त संस्थाले कुटनीति र विकासमा केन्द्रित भएर ‘द डिम्प्लोम्याट’ नामक द्वैमासिक पत्रिका प्रकाशन आरम्भ गरेको छ । पहिलो अंकको विमोचन हालै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्नुभएको छ ।
संस्थाका अध्यक्ष मोहनकृष्ण श्रेष्ठका अनुसार, यस क्षेत्रका बौद्धिक व्यक्तित्वहरुबीच अन्तरक्रिया बढाउने, आफ्ना अनुभवहरुमा आधारित भएर सरकारलाई सुझाव दिने र यही क्षेत्रमा अध्ययन–अनुसन्धानलाई केन्द्रमा राखेर काम गर्ने उद्देश्यले संस्था स्थापना भएको हो । उहाँले भन्नुभयो, ‘हामीसँग अनुभव छ, हामी एक ठाउँमा बसेर आफ्ना अनुभवहरुलाई आपसमा बाँड्न र त्यही अनुसार राष्ट्रलाई अलिकति भए पनि मद्दत पुगोस् भन्ने चाहन्छौँ । त्यही उद्देश्यले संस्था स्थापना गरेका हौँ ।’ संविधान निर्माण, यसको कार्यान्वयन र तीनै तहको निर्वाचन सम्पन्न भएका कारण राजनीतिक स्थिरता आएकाले अब विकासले प्राथमिकता पाउनुपर्ने बेलामा अन्तर्राष्ट्रिय क्षेत्रमा सरकारका काममा आफ्नो संस्थाले मद्दत पु¥याउने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्