शशी लुमुम्बूका दुई कविता


 

डोर्याएर घाम
ओछ्याएर हिउँदे रातहरू
लुगलुगी कठाङ्ग्रिँदै शीतलहरले
बाक्लो हुस्सुको जङ्गलमा
कति युग निस्सासिएको थिएँ !

सुनौलो बिहानीको असीम कल्पना
साँचेर मनमस्तिष्कमा हरदम
प्रार्र्थना गर्दै सूर्यदर्शनको
कति कष्ट काटेँ हुँला
तिमी कल्पना गर्न सक्छौ !

मस्तिष्कको गजुरमाथि
घरीघरी उदाउँथ्यो झुलुक्क घाम
र, झलमलाउँथ्यो पाखापखेराभरि
घरीघरी त अस्ताउन खोज्थ्यो …!

रातको नीरव अन्धकारमा
मेरो मनको एक छेउ छोएर
मेरो मस्तिष्कको एक किनार छोएर
जूूनकिरीहरू डुलिहिँड्थे
लाथ्यो—
म पनि हुँ एउटा जूनकिरी त !

ताराहरू झलमलाउँथे नीलगगनमा
खस्थे घरीघरी केही टुक्रा जमिनतिर पनि
झसङ्ग हुन्थ्यो मन
मस्तिष्कमा केही चलमलाउँथ्यो… !

बल्ल उज्यालियो पूर्व क्षितिज
अनि—
खस्यो सुस्तरी धरतीमा शिशुघाम
सलामी दिए तोपचराहरूले
बजाए मङ्गलधुन सारौँका बथानहरूले…!

अलौकिक आभाले प्रदीप्त
शिशुघाम टुकुटुक दगुर्दै आएर
बस्यो मेरो काखमा
तातेताते गर्दै आएर चढ्यो मेरो काँधमा
प्रेम र करूणाको अजस्र जल बर्साएर
चुमेँ मैले शिशुघामलाई…!

हजारौँ माइलको गन्तव्य ताकेर
अहिले मसँगसँगै हिँडिरहेको छ वयस्क घाम !

अन्तिम विद्रोह

मेरो शरीरमा बाँकी रहेको
अन्तिम थोपा रगत चाटेर तिमीले
मनायौ धुमधामसँग जीवनको उत्सव !

पिएर जाँडझैँ घटघट
मेरो आँसुको नदी
आवाद ग¥यौ तिमीले लोकतन्त्रको बन्जरभूमि
र, मेरो पसिनाको बाक्लो रङले
रङ्गायौ आफ्नो गणतान्त्रिक दरबार !

मेरा आँखाका ज्योतिहरूमा
छर्किएर खुर्सानीको धूलो
जुधायौ तिमीले मलाई
म आफैँविरुद्ध
र, लियौ झुसिलो मनोरञ्जन…!

तापेर मेरा हड्डीको रामधुनी
होम्यौ तिमीले
महायज्ञमा मेरै मस्तिष्क
र, खेल्यौ बालुन
बजाउँदै मेरै खोपडीको खैँजडी…!

झिकेर मेरो मुटु—कलेजो
खायौ तिमीले स्वादिलो भुटुवा
मेरै आँसुको मदिरासित
र, घोप्ट्याइदियौ मेरै छातीमा कराही !

जिउँदै गाडेर चिहानमा मलाई
चिट्यौ तिमीले वरडाँडामा चौतारो
र, मञ्चन ग¥यौ शोकसभाको नाटक….!

खोसेर मेरो आवाज तिमीले
गायौ राष्ट्रगान
डाम्यौ मेरो चेतनामा तातो पन्यु
लुट्यौै— मेरो प्रिय माटो
र, बनायौ मलाई—
आफ्नै देशभित्र अनागरिक……!

ओ समय !
नसम्झ— म इतिहास भइसकेँ
म वायु–बतास बनिसकेँ…!

ई…हेर फर्केर यता—
हो, आइपुगेको छु म
तिम्रो दरबारको पटाङ्गिनीमा
र, उभिएको छु— भीमकाय पहाड !!

प्रतिक्रिया दिनुहोस्